(१) ऐनको दफा २१ बमोजिम तहकिकातको सिलसिलामा प्रहरी हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखी रहन आवश्यक नदेखिएमा सो कुराको कारण खोली पर्चा खडा गरी त्यस्तो व्यक्तिलाई हाजिर जमानीमा छोड्नको निमित्त सरकारी वकीलको सहमतिको लागि पत्र लेखी मिसिलसमेत सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सहमतिको लागि लेखि आएमा सरकारी वकीलले मिसिल संलग्न कागजहरूको अध्ययनबाट त्यस्तो व्यक्तिलाई हिरासतमा राखिरहन आवश्यक नदेखेमा हाजिर जमानीमा छोड्ने सहमति दिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम सरकारी वकीलसँग तत्काल सहमति लिन नसकिने मनासिब अवस्था परेमा त्यसको कारण जनाई प्रहरी हिरासतमा रहेको कुनै व्यक्तिलाई तहकिकात गर्ने प्रहरी कर्मचारीले हाजिर जमानीमा छोड्नु पर्नाको कारणसमेत खोली पर्चा खडा गरी छोड्न सक्नेछ र यसरी छोडिएकोमा त्यसको जानकारी सरकारी वकील कार्यालयलाई अविलम्ब दिनु पर्नेछ ।